Wednesday, November 25, 2009

नेपालमा फुटबलभन्दा क्रिकेट लोकप्रिय : डायस

दुबई, मंसिर १० नागरिक - नेपाली क्रिकेट टोलीका श्रीलंकाली प्रशिक्षक रोय डायसले नेपालमा लोकप्रियतामा क्रिकेटले फुटबललाई नाघेको बताएका छन्।एसिसी ट्वान्टी-२० कपका क्रममा खालीज टाइम्सलाई अन्तर्वार्ता दिंदै डायसले जुनियर स्तरमा नेपाली क्रिकेटले पाएको सफलताले यसलाई लोकप्रिय बनाएको बताए।प्रशिक्षकका रूपमा आफ्नो आठ वर्षे कार्यकालमा डायसले विशेषगरी उमेर समूहमा नेपाललाई सफलता दिलाएका छन्।
सन् २००२ मा न्युजिल्यान्डमा भएको १९ वर्षमुनिका खेलाडीको विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल प्लेट च्याम्पियनसिपको उपविजेता बनेको थियो। प्लेट च्याम्पियनसिपको फाइनलसम्म पुग्ने क्रममा नेपालले पाकिस्तान र बंगलादेशजस्ता टेस्ट स्तरप्राप्त राष्ट्रलाई पराजित गरेको थियो। फाइनलमा भने नेपाल जिम्बाबेबाट पराजित भएको थियो।त्यसबाहेक नेपाल कराँचीमा सम्पन्न एसिसी युथ एसिया कप जितेर सन् २००४ को युवा विश्वकपका लागि छनोट भएको थियो। त्यस्तै सन् २००६ मा श्रीलंकामा भएको युवा विश्वकपमा दक्षिण अफ्रिका र न्युजिल्यान्डलाई पराजित गर्दै प्लेट च्याम्पियनसिप उपाधि जितेको थियो।'हामीले १५ र १७ वर्षभन्दा कम उमेरका खेलाडीको प्रतियोगिता लगातार चार पटक जित्नुका साथै चार वटै युवा विश्वकप (१९ वर्षमुनि) मा छनोट भएर तीन पटक प्लेट च्याम्पियनसिपको फाइनलसम्म पुगेका थियौं,' प्राविधिक रूपमा सटिक मानिएका ब्याट्सम्यानमध्येका ५७ वर्षीय डायसले भने।श्रीलंकाले दिएको उत्कृष्ट कभर क्षेत्रका क्षेत्ररक्षक डायसले एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा क्रिकेट अस्ट्रेलिया लेभल प्रशिक्षकमा छनोट हुनुका साथै इङ्लिस बोर्डको चौथो स्तर पनि पार गरेका छन्।तर डायसले जुनियर स्तरको सफलता राष्ट्रिय स्तरमा परिणत गर्न सकेका छैनन्। यसका लागि उनी नियमित प्रतियोगिता र भौतिक पूर्वाधारको कमी मुख्य कारक बताउँछन्।'नेपालमा प्रतिभाको कमी छैन। तर त्यहाँ स्कुल क्रिकेट छैन भने क्लब क्रिकेटको पनि पर्याप्त मात्रामा अभाव छ। त्यहाँ क्रिकेटका लागि ६ वटा क्षेत्रको निर्धारण गरिएको छ। प्रत्येक राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट मैले प्रशिक्षण सिविरका लागि लगभग ३० खेलाडी छनोट गर्ने गर्छु। त्यहीबाट १४ जनाको छनोट हुन्छ,' पाँच वर्षसम्म श्रीलंकाको राष्ट्रिय छनोट समितिमा रहेका डायसले भने।'हामीसँग प्रशिक्षण सुविधा भएको एउटा मैदान छ। मुख्य कुरा नेपालमा ठूलो स्तरको प्रतियोगिता छैन। क्रिकेट विकासका लागि उनीहरूले बाहिर गएर धेरै खेलको अनुभव लिनुपर्छ। उनीहरूलाई 'एक्सपोजर' को खाँचो छ,' उनले भने।कुनै पनि भ्रमणअघि श्रलिंका, भारत, पाकिस्तान र बंगलादेशले सहयोग पुर्‍याउँदै आएका छन्। यस प्रतियोगिताअघि पनि नेपाली टोलीलाई दिल्ली क्रिकेट संघले निम्त्याएको थियो।पछिल्लो २० वर्षदेखि कोलम्बोमा आफ्नै क्रिकेट स्कूल सञ्चालन गर्दै आएका डायसले आगामी मार्चमा आफ्नो अनुबन्धन समाप्तिपछि आफ्नै भूमिमा फर्कने बताए।'म श्रीलंका फर्कन चाहन्छु। त्यहीं मैले क्रिकेट सिकेर प्रशिक्षण दिन थालेको हुँ। यदि श्रीलंकालाई मेरो आवश्यकता भए म निश्चित रूपमा त्यहाँ हुनेछु,' सन् १९९९ को विश्वकपका लागि श्रीलंकाली राष्ट्रिय टोलीलाई प्रशिक्षण दिएका डायसले भने।डायस टेस्ट क्रिकेटले ट्वान्टी-२० स्वरुपको चुनौतीलाई सामना गर्ने बताउँछन्। 'परम्परा भनेको टेस्ट क्रिकेट हो। त्यसपछि एकदिने क्रिकेट हो। ट्वान्टी-२० त दर्शक र प्रायोजकलाई आकर्षित गर्न हो,' डायसले भने।'ट्वान्टी-२० मा नयाँ शैलीको शट खोज्नुपर्छ। त्यसमा रनरहित बल निकै कम हुन्छ। टेस्ट क्रिकेटमा भने निकै फरक हुन्छ। खराब बल खेल्नका लागि कतिपय बल छाड्नुपर्छ।'शारजहाँ क्रिकेट रंगशालामा डायसको सुखद सम्झना छ। सन् १९८४ मा पाकिस्तानविरुद्ध अविजित ६९ रन हिर्काएका उनी म्यान अफ द म्याच भएका थिए। उनले आफ्नो खेलजीवनको उत्कृष्ट प्रदर्शनका रूपमा तीन वटा सतकलाई लिएका छन्। जुन भारत, पाकिस्तान र न्युजिल्यान्डका उत्कृष्ट बलरविरुद्ध खेल्दै बनाएका थिए। 'मैले सम्झने अर्को इनिङ भनेको चेन्नईमा भएको श्रीलंकाको दोस्रो टेस्ट हो, जसमा मैले ९७ रन बनाएको थिएँ,' डायसले सम्भि्कए।'तुलना गर्न निकै कठिन हुन्छ। किनभने हामीले सुरु गर्दा टेस्ट म्याचहरू कम हुने गर्थे। अहिले भने निकै बढी क्रिकेट भइरहेको छ। यो एक दिनका लागि त ठिकै हो, तर कहिलेसम्म भन्ने प्रश्न छ,' डायसले भने। उनले जम्मा २० टेस्टमा श्रीलंकाको प्रतिनिधित्व गरे पनि ३९ वर्षको उमेरसम्म खेलेका थिए।